२६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ का टेढा र रामवन क्षेत्रमा स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
भेटघाटका क्रममा उम्मेदवार सरार्फले वीरगञ्जका ग्रामीण वडाहरू अझै पनि विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको उल्लेख गर्दै विगतका जनप्रतिनिधिहरूले गाउँलाई ठगेको आरोप लगाए।
आफू निर्वाचित भए यी वडाहरूको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने उनले घोषणा गरे। साथै देश र मधेसको निकासको स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै ‘हर्न’ छापमा मतदान गर्न सबै मतदातासँग अपिल गरे।
कार्यक्रममा डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साहलगायत पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
















