२६ माघ, सिरहा । सिरहा कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गरेका छन्। कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि अवस्था तनावग्रस्त बनेको हो।
कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ। यादवलाई पक्राउ गरिएको विषयलाई लिएर उनको पक्षका कैदीबन्दीहरूले जेलभित्र तोडफोड र आगजनी गरेका हुन्।
जिल्ला सुरक्षा समितिले सोमबार बिहान गरेको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको छ। अनुगमनका क्रममा चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली हुँदै आएको विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा नाइके यादवको कोठाबाट बन्दुक, गोली र नगद रकम फेला परेको उनले जानकारी दिए।
भाग्ने योजना बनाएको आरोपमा नियन्त्रणमा लिइएका १३ जना कैदीलाई हात बाँधेर तथा आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।
घटनापछि केही कैदीबन्दी कारागारको छतमाथि चढेर ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’, ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। कैदीबन्दीहरूले सिरकलगायतका लुगाहरूमा आगजनीसमेत गरेका छन्।
स्थिति नियन्त्रणमा लिन कारागार भित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति तैनाथ गरिएको छ।
नियन्त्रणमा परेका कैदीबन्दीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको प्रशासनले जनाएको छ।
१५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको छ, जसले कारागारको व्यवस्थापन र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
















