२८ माघ,सेढवा । पर्सा निर्वाचन क्षेत्र नं.–४ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. कृपासिन्धु चौधरी पहिलोपटक संविधानसभाको निर्वाचनका लागि मत माग्न पर्साको ठोरी गाउँपालिका–३ अन्तर्गत पर्ने दुर्गम शिकारीबास पुगेका छन्।
स्थानीय सालिराम दिस्वाका अनुसार डा. चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई विकासको मुख्य आधार बनाउँदै आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै समस्याबारे जानकारी लिएका थिए।
उम्मेदवार चौधरीले आफू निर्वाचित भए दुर्गम शिकारीबासका दीर्घकालीन समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थन मागेका थिए।
शिकारीबास करिब सात किलोमिटर जंगलभित्र पर्सा–चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा रहेको छ। दुर्गम अवस्थिति र आधारभूत पूर्वाधारको अभावका कारण यहाँका बासिन्दाले वर्षौंदेखि विभिन्न समस्या झेल्दै आएका छन्। गाउँमा व्यवस्थित सडकको अभाव छ भने जंगली जनावरको आक्रमणले धनजनको क्षति हुने समस्या निरन्तर देखिने गरेको स्थानीयको भनाइ छ। किसानले उत्पादन गरेका बालीनाली जंगली जनावरले नष्ट गर्ने र असुरक्षित वातावरणमा बस्नुपर्ने अवस्था रहेको छ। बेरोजगारी पनि यहाँको प्रमुख समस्या बनेको छ।
शिकारीबासमा ५५ घरधुरी रहेका छन्, जहाँ आदिवासी थारु समुदायको बाहुल्य छ। गाउँको कुल जनसंख्या करिब २६० रहेको र मतदाता संख्या करिब १४० जना रहेको बताइएको छ।
















