Logo

२९ माघ,काठमाडौं । स्वदेशमा अपराध गरी विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। तीमध्ये रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको हो।

अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी गरिएकोमा १७ जना रेड नोटिस र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।

प्रवक्ता काफ्लेले इन्टरपोलसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ कार्य निरन्तर जारी रहेको बताए। “अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ,” उनले भने।

मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न, आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी प्रहरी संगठन सक्रियतापूर्वक परिचालित भएको उनले जानकारी दिए।

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले रेड नोटिस तथा डिफ्युजन जारी गर्दै आएको छ।


सम्बन्धित समाचार