२९ माघ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको उक्त निर्णयसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पदसमेत खारेज हुने प्रक्रिया अघि बढाइएको छ।
पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्माविरुद्ध गरिएको कारबाहीसम्बन्धी पत्र बुधबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो। २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन्।
जिसीका अनुसार शर्माले जानीजानी पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको ठहर गर्दै पार्टी विधान तथा कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ बमोजिम केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यबाट समेत निष्कासन गरिएको हो।
उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम पार्टी सदस्यबाट निष्कासित व्यक्ति प्रदेश सभा सदस्य रहन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरे। सोही कानुनी प्रावधानअनुसार शर्मालाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई पत्राचार गरिएको उनले बताए।
कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कारबाहीसम्बन्धी पत्र प्राप्त भइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।
पूर्वमुख्यमन्त्री शर्मामाथिको यस कारबाहीले कर्णाली प्रदेशको राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ। प्रदेश सभामा शक्ति सन्तुलनमा असर पर्न सक्ने आकलन गरिँदै आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।
















