२९ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–२ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको र उत्साहजनक समर्थन प्राप्त भएको रास्वपाले जनाएको छ।
घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा परिवर्तनको आवश्यकता औंल्याउँदै यसपटकको मतदानले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए। उनीहरूले उम्मेदवार कानुलाई समर्थन जनाउँदै विकास र सुशासनको अपेक्षा राखेको बताएका छन्।
उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकलाई समयमै मल उपलब्ध गराउने तथा सिँचाइको सुनिश्चितता गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको उनले उल्लेख गरे। निर्वाचित भएमा यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता उनले जनाए।
रास्वपाका नेता शर्फु आलमका अनुसार घरदैलो कार्यक्रममा फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरीलगायतको सहभागिता रहेको थियो।
















