२९ माघ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) को संगठनात्मक प्रभाव उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने यस वडामा विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौं युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेका छन्।
सामूहिक रूपमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। कार्यक्रममा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी, नेतृ करिमा बेगम, नेता सन्तोष तिवारी तथा बहुदरमाई–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो। नेताहरूले नवप्रवेशीहरूलाई टीका, अबिर र फूलमाला लगाएर स्वागत गरेका थिए।
कार्यक्रमका क्रममा सोही स्थानमा जसपाको नयाँ पार्टी कार्यालयसमेत उद्घाटन गरिएको छ। उम्मेदवार टेमानीले कार्यालयको उद्घाटन गर्दै स्थानीय स्तरमा पार्टी संरचना बलियो बनाउने र मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार कार्यालय सञ्चालनमा आएपछि संगठन सुदृढीकरण तथा चुनावी गतिविधि प्रभावकारी रूपमा अगाडि बढाउन सहज हुनेछ।
नवप्रवेशीहरूले विगतका अनुभव स्मरण गर्दै अब विकासमुखी र जनउत्तरदायी राजनीतिक शक्तिलाई साथ दिने निर्णय गरेको बताएका छन्। उनीहरूले जनआवश्यकता र स्थानीय समस्यालाई प्राथमिकतामा राख्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे।
उम्मेदवार टेमानीले स्थानीय युवाशक्ति र बुद्धिजीवीहरूको सक्रिय सहभागिताले आफ्नो चुनावी अभियान थप सशक्त बन्ने विश्वास व्यक्त गरे। उनले विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
बहुदरमाई–४ मा सम्पन्न उक्त कार्यक्रमलाई जसपाको चुनावी अभियानका लागि रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय तहमा संगठन विस्तार गर्दै जनसमर्थन बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी पार्टीले जनाएको छ।
















