Logo

२९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्र झापा–५ मा एक साता लामो समय बिताएर बिहीबार काठमाडौँ फर्किएका छन् ।

झापा बसाइका क्रममा उनले कुनै ठूला सार्वजनिक मञ्च वा सभाभन्दा पनि मतदाता र शुभेच्छुकहरूसँगको अनौपचारिक भेटघाट र छलफललाई बढी प्राथमिकता दिएका थिए । ओलीले कमल गाउँपालिकाका सबै वडा, गौरादह नगरपालिकाका ८ वटा वडा र गौरिगञ्ज गाउँपालिकाका ३ वटा वडास्तरमै पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरी जनस्तरको सुझाव र गुनासो संकलन गरेका छन् ।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार, अध्यक्ष ओलीले दमक नगरपालिकाका वडास्तरीय पार्टी कमिटीका पदाधिकारीहरूसँग पनि छुट्टै भेट गरी आगामी सांगठनिक रणनीतिका बारेमा परामर्श गरेका थिए ।

यस पटकको झापा भ्रमणसँगै एउटा नयाँ र रचनात्मक अभियान ‘हामी झापाली’ को समेत सूत्रपात भएको छ । ओलीले मतदाताहरूसँगको भेटमा झापालाई आफूले भोट लिने थलोका रूपमा मात्र कहिल्यै नहेरेको र झापालीको सुख–दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता जनाएसँगै यो अभियानले गति लिएको हो । अहिले झापाका क्याफे, होटल र रेस्टुरेन्टहरूमा हामी झापाली लेखिएका स्टिकरहरू देखिन थालेका छन् भने ओलीको आधिकारिक फेसबुक पेजमार्फत सुरु भएको यो अभियानलाई उनका लाखौँ शुभेच्छुक र स्थानीय मतदाताले सामाजिक सञ्जालमा व्यापक रूपमा पछ्याइरहेका छन् ।

पार्टीका आन्तरिक छलफल र निर्वाचन क्षेत्रका मतदाताको भावना बुझ्न माघ ५ गते झापा पुगेका ओलीले यो एक साताको समयलाई पूर्णतः स्थानीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित गरेका थिए । अनौपचारिक संवादका क्रममा उनले झापाको विकास र झापालीसँगको आफ्नो भावनात्मक सम्बन्धलाई विशेष जोड दिएका छन् ।

ओली काठमाडौँ फर्किए पनि उनले सुरु गरेको ‘हामी झापाली’ अभियानले भने जिल्लाको राजनीतिक र सामाजिक माहोलमा नयाँ तरङ्ग पैदा गरिदिएको छ, जसलाई एमालेले जनस्तरमा आफ्नो प्रभाव बलियो बनाउने रणनीतिका रूपमा लिएको छ ।


सम्बन्धित समाचार