Logo

सौहार्द सिग्देल – 1

१ फाल्गुण, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित मुलुकका दुई अग्रणी बैंकहरू नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले ठुलो सङ्ख्यामा नयाँ कर्मचारी भर्नाको प्रक्रिया अघि बढाएका छन् ।

दुवै बैंकले शुक्रबार छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त रहेका कुल १२० पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेका हुन् । बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने योग्य नेपाली नागरिकहरूका लागि यो एक सुनौलो अवसरका रूपमा देखिएको छ ।

नेपाल बैंक लिमिटेडले वरिष्ठ प्रबन्धकदेखि सहायक तहसम्मका विभिन्न ५८ रिक्त पदका लागि आवेदन मागेको छ । बैंकले जारी गरेको सूचना अनुसार उच्च तहमा एक जना वरिष्ठ प्रबन्धक, ६ जना सहायक प्रबन्धक, सूचना प्रविधि (आईटी) तर्फ ६ जना सहायक प्रबन्धक र चार्टर्ड एकाउन्टेन्ट (सीए) तर्फ ६ जना सहायक प्रबन्धक माग गरिएको छ । त्यसैगरी, प्राविधिक दक्षता भएका १२ जना आईटी सहायक र विभिन्न प्रशासनिक कार्यका लागि २० जना सहायक पदमा पनि दरखास्त खोलिएको छ । इच्छुक उम्मेदवारहरूले आगामी चैत २१ गतेसम्म बैंकको तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन् ।

यता, राष्ट्रिय वाणिज्य बैंकले पनि देशका सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरूका लागि कर्मचारीको माग गरेको छ । बैंकले देशभरका रिक्त स्थान पूर्ति गर्ने लक्ष्यसहित ६२ जना सहायक पदका लागि विज्ञापन खुलाएको हो । योग्यता पुगेका उम्मेदवारले आजैका मितिदेखि बैंकको अनलाइन पोर्टल प्रयोग गरी दरखास्त पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ। दुवै बैंकले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै विभिन्न आरक्षित कोटामा समेत प्रतिस्पर्धा गराउने जनाएका छन्, जसले गर्दा दक्ष र समावेशी जनशक्ति सेवामा प्रवेश गर्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै