२ फागुन,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐतिहासिक चुनबाङको भेरीडाँडा पुगेका छन्। मतदाता भेटघाट कार्यक्रमअन्तर्गत आज बिहान उनले तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समिति बैठक स्थलको भ्रमण गरेका हुन्।
वि.सं. २०६२ असोजमा माओवादीको केन्द्रीय समिति बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी राजनीतिक दलसँग सहकार्यको मार्ग प्रशस्त गरेको थियो। सोही बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा सीमित गर्ने निर्णय गरेको थियो। उक्त बैठकलाई माओवादी आन्दोलनको ऐतिहासिक मोडका रूपमा लिने गरिन्छ।
भ्रमणका क्रममा प्रचण्डले चुनबाङ बैठक स्थलसँगै आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका घर र कोठाको अवलोकन गरे। पत्नी र छोराबारे उठेका जिज्ञासामा भावुक प्रतिक्रिया दिँदै उनले नेपाली क्रान्तिमा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताए।
मतदाता भेटघाट तथा बैठक स्थल अवलोकनका क्रममा उनले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति प्रक्रियातर्फ डोर्याएको उल्लेख गरे। रुकुम जिल्लालाई क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने ऐतिहासिक जिल्ला भएको उनले बताए।
प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी पुथा उत्तर गाउँपालिकाको तकसेरामा पुगेर मतदातासँग छलफल गर्नेछन्।
मतदाता भेटघाटका लागि उनी तीन दिनदेखि रुकुम पूर्वमा छन्। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो।
















