२ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सर्वसाधारणको आकर्षण उल्लेख्य रूपमा बढेको छ। पार्टीका वरिष्ठ नेता बालेन शाहको वीरगञ्जमा सम्पन्न भव्य रोड–शोपछि स्थानीयहरू स्वस्फूर्त रूपमा रास्वपा खोज्दै पार्टी प्रवेश गर्न थालेका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शुक्रबार र शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ५०० भन्दा बढी पेशाकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय नेताहरू रास्वपामा प्रवेश गरेका छन्।
शुक्रबार ढिलो गरी परवानीपुरमा आयोजित कार्यक्रममा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा ठूलो संख्यामा टोली रास्वपामा समाहित भएको थियो। त्यस्तै शनिबार बिहान भिस्वामा आयोजित कार्यक्रममा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पार्टीको सदस्यता लिएका छन्।
नवप्रवेशीहरूलाई रास्वपा पर्साका जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले टीका र खादा लगाएर स्वागत गरे। सो अवसरमा बोल्दै उनले पुराना दलहरूको विकल्पका रूपमा जनताले रास्वपालाई रोजेको दाबी गरे। ‘संकटको बेला हेलिकप्टरमा झुण्डिएर भाग्ने र जनतालाई दुःख दिने पुराना दल र तिनका उम्मेदवारलाई यसपटकको निर्वाचनमा बहिष्कार गर्न जरुरी छ,’ उनले भने।
पार्टी प्रवेश कार्यक्रमसँगै उम्मेदवार पन्तले शनिबार वीरगन्जको गहवा क्षेत्रमा घरदैलो कार्यक्रम पनि सञ्चालन गरेका छन्। घरदैलोका क्रममा स्थानीयले उनलाई उत्साहजनक स्वागत गर्दै आगामी निर्वाचनका लागि शुभकामना दिएका थिए।
पछिल्लो समय देखिएको जनलहरका कारण परम्परागत दलका उम्मेदवारहरू दबाबमा परेको विश्लेषण गरिएको छ। विशेषगरी युवा, शिक्षित तथा परिवर्तनको अपेक्षा राख्ने मतदाताहरू रास्वपातर्फ आकर्षित देखिनुले पर्सा–१ मा नयाँ शक्ति उदाएको संकेत मिलेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो सक्रियता, बढ्दो जनसहभागिता तथा चुनावी सभामा देखिएको उत्साहले यस क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको छ। आगामी निर्वाचनको परिणामले पर्साको परम्परागत राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।
















