Logo

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशमा चुनावी अभियानका क्रममा आफू आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्।

शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले भने, “म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएको छु। गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ। पहिरन नयाँ, खाना नयाँ। तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसकेको छ। किनभने म त्यो नाता जोड्न यहाँ आएको हुँ।”

थापाले निर्वाचन जित्ने कुरामा काठमाडौंबाट आउनै नपर्ने भए पनि मधेशबाट केही नयाँ सोच लिएर आएको उल्लेख गरे। “म सभापति भइसकेपछि त्यहाँ अनुकूलता थियो, तर म यहाँ केही नयाँ सोच लिएर आएको हुँ,” उनले भने।

सभापति थापाले मधेशमा कांग्रेसको इतिहासको पनि स्मरण गराए। उनले २०३६ सालको जनमत संग्रहपछि नेता बिपी कोइरालाले मधेशी नागरिकलाई नागरिकता दिने सुझाव पेश गरेको कुरा उल्लेख गर्दै कांग्रेस मधेशको अंग भएको बताए।

थापाले भने, “त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो। यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो। कांग्रेसको जरै यही छ।” उनले कांग्रेस मधेशमा जमेर आउनुपर्छ भन्ने उद्देश्यले सर्लाहीमा उम्मेदवार हुन आएको स्पष्ट पारे।


सम्बन्धित समाचार