२ फागुन,काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सबै तहका कर्मचारीलाई आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन दिएका छन्।
शनिबार जंगी अड्डामा महाशिवरात्रि र २६३ औँ सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई शुभकामनासँगै निर्वाचनसम्बन्धी निर्देशन दिएका हुन्।
जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सिग्देलले नेपालको गौरवका गाथा, परम्परा र संस्कृति चिन्न, त्यसको सम्मान गर्न र इतिहासका पाठबाट सिक्न सैनिक कर्मचारीलाई निर्देशन दिएका छन्।
निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ कि, “सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन(अध्यापन गराउन निर्देशन दिनुभयो। साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरू उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिनुभयो।”
















