Logo

३, फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रहेका रञ्जित तामाङले आफ्नो महत्त्वाकाङ्क्षी विकास योजना सार्वजनिक गरेका छन् ।

आइतबार दमकमा एक विशेष कार्यक्रमको आयोजना गरी उनले ‘झापा–५ भिजन– ७ नामक अवधारणा पत्र सार्वजनिक गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गरेका हुन् । यस भिजन पेपरमार्फत तामाङले आगामी पाँच वर्षभित्र १७० वटा गौरवका आयोजना सम्पन्न गर्ने अठोट व्यक्त गर्दै आफ्नो क्षेत्रलाई देशकै नमुना बनाउने दाबी गरेका छन् ।

तामाङद्वारा सार्वजनिक गरिएको भिजन पेपरमा सातवटा प्रमुख प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएका छन्, जसअन्तर्गत ३५ वटा मिसन र २१ वटा ठोस लक्ष्यहरू समेटिएका छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, भौतिक पूर्वाधार, सुशासन र सामाजिक समावेशीकरणलाई उनले आफ्नो योजनाको मेरुदण्ड बनाएका छन् । शिक्षाको हकमा क्षेत्रभित्रका ८७ वटा सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी तिनलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने र दमक बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्नेसम्मका योजना उनले अघि सारेका छन् ।

विकासका भौतिक पूर्वाधारतर्फ उनले केही निकै महत्त्वाकाङ्क्षी योजनाहरू घोषणा गरेका छन् । १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन गर्नेदेखि लिएर विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन गर्ने र औद्योगिक ग्राम स्थापना गर्नेसम्मका विषयलाई उनले आफ्नो कार्यसूचीमा राखेका छन् । यसका साथै कृषि र उद्योगमा युवा सहभागिता बढाउँदै स्वदेशी पुँजीको संरक्षण गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने पक्षमा पनि तामाङले विशेष जोड दिएका छन् ।

योजनाको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन तामाङले प्रत्येक वर्ष प्रत्येक वडा र स्थानीय तहमा निश्चित संख्यामा आयोजनाहरू सञ्चालन गर्ने मोडेल अघि सारेका छन् । जसअनुसार निर्वाचन क्षेत्रका २९ वटै वडामा वार्षिक एउटाका दरले २९ आयोजना, चारवटा स्थानीय तहमा १६ आयोजना र क्षेत्रीय स्तरमा एउटा ठुलो आयोजना गरी विकासको गतिलाई सन्तुलित रूपमा अगाडि बढाउने उनको लक्ष्य रहेको छ । यसरी योजनाबद्ध विकास र सुशासनमार्फत झापा(५ को मुहार फेर्ने संकल्पसहित उनी यतिबेला मतदातामाझ पुगिरहेका छन् ।


सम्बन्धित समाचार