Logo

३ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आइतबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकको राजनीतिक र प्रशासनिक संरचनामा आमूल परिवर्तनको एजेन्डा अघि सारेको छ ।

‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ भन्ने मूल संकल्पसहित सार्वजनिक गरिएको यस प्रतिबद्धता पत्रमा पार्टीले हालको संसदीय व्यवस्थाले केवल अस्थिरता मात्र निम्त्याएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो मुख्य राजनीतिक आधार बनाएको छ । २०८२ भदौमा भएको ‘जेनजी’ विद्रोहको जगमा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको प्रलोपाले सांसदहरूलाई केवल कानुन निर्माणमा सीमित राख्ने र विज्ञहरूको मन्त्रीमण्डल बनाउने नयाँ परिपाटीको प्रस्ताव गरेको छ ।

आर्थिक विकासका लागि पार्टीले महत्वाकाङ्क्षी लक्ष्यहरू तय गर्दै कार्यकारी प्रमुखकै प्रत्यक्ष निगरानीमा रहने गरी ुराष्ट्रिय विकास प्राधिकरणु गठन गर्ने घोषणा गरेको छ । यस प्राधिकरणमार्फत पाँच वर्षभित्र देशबाट पूर्ण रूपमा गरिबी निवारण गर्ने र २५ वर्षभित्र नेपाललाई विश्वकै उच्च आय भएका मुलुकहरूको श्रेणीमा पुर्‍याउने दाबी गरिएको छ । कृषिमा पाँच वर्षभित्रै आत्मनिर्भर बन्ने र १० वर्षभित्र विद्युत् आयात शून्यमा झार्दै हाइड्रोजन ऊर्जाको विकास गर्ने जस्ता योजनालाई प्राथमिकतामा राखिएको छ । साथै, शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण दायित्वभित्र राख्दै उच्च माध्यमिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य सेवालाई पूर्णतः निःशुल्क गर्ने बाचा गरिएको छ ।

सुशासन र सामाजिक सुरक्षाका क्षेत्रमा पनि प्रलोपाले कडा र जनपक्षीय नीतिहरूको घोषणा गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न ‘जनलोकपाल’ गठन गर्ने प्रस्ताव गर्दै पार्टीले मतदाताहरूलाई उम्मेदवार चित्त नबुझे ‘राइट टु रिजेक्ट’ र निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ को कानुनी अधिकार दिने प्रतिबद्धता जनाएको छ ।

युवा लक्षित योजना अन्तर्गत २१ देखि ३० वर्षका बेरोजगार युवाहरूलाई वर्षको कम्तीमा १०० दिनको रोजगारी वा सो बराबरको भत्ता दिने व्यवस्था गरिने उल्लेख छ । परराष्ट्र नीतिका हकमा पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै सीमा समस्याको कूटनीतिक समाधान र राष्ट्रिय हित प्रतिकूलका सन्धिहरूको पुनरावलोकन गर्ने अडान लिएको यस पार्टीले चुनाव चिन्ह ‘आँखा’ मार्फत मतदातालाई नयाँ विकल्प रोज्न अपिल गरेको छ ।


सम्बन्धित समाचार