३ फागुन,वीरगञ्ज । प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनले तुलसी साह रौनीयारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट रौनीयार पुनः अध्यक्षमा निर्वाचित हुँदै दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका छन्।
नवनिर्वाचित कार्यसमितिअन्तर्गत उद्योगतर्फको उपाध्यक्षमा युवराज सुवेदी, वाणिज्यतर्फको उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुशवाहा, कोषाध्यक्षमा अमित टिबडेवाल तथा सचिवमा सौरभकुमार गुप्ता चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोजकुमार गुप्ता, पिंकी टिबडेवाल, अनुपमा गुप्ता, पुष्पा देवी, कनहैयालाल साह, शम्भुनारायण साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम रहेका छन्। सर्वसम्मत रूपमा चयन भएका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिबार नै सपथग्रहण गरेका छन्।
तीन वर्षअघि भोलाप्रसाद गुप्ताको नेतृत्वमा गठन भएको संघमा हाल ४३ जना उद्योगी आबद्ध रहेका छन्। अध्यक्ष रौनीयारले आगामी दिनमा संघलाई अझै सशक्त र विस्तार गर्दै व्यापारीहरूलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदस्य संख्या बढाएर २ सय पुर्याउने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।
संघले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। रक्तदान कार्यक्रम, निःशुल्क आँखा शिविर तथा सिपमूलक तालिमहरू जस्ता गतिविधि नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
अधिवेशन कार्यक्रममा संघले पुराना व्यवसायी संजय कुमार साह कलवारलाई सम्मानित समेत गरेको थियो। कार्यक्रममा उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
















