Logo

४ फाल्गुण, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएकी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले निर्वाचनको परिणामलाई सहज रूपमा स्वीकार गर्ने उद्घोष गरेकी छन् ।

घरदैलो अभियानका क्रममा मतदाताको घरआँगनमा पुगिरहेकी दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनमा सहभागी भइसकेपछि हार र जित दुवैलाई स्वीकार्नु एउटा जिम्मेवार राजनीतिकर्मीको दायित्व भएको उल्लेख गरेकी हुन् । लोकतान्त्रिक मूल्य र मान्यताको कसीमा उभिएर निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले यस प्रक्रियामा सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत गरेकी छन् ।

भरतपुर महानगरपालिकाको नेतृत्व सम्हाल्दा ९ वर्षसम्म आफूले देखाएको कार्यकुशलता, प्रतिबद्धता र इमानदारितालाई नै जनताले विश्वासको आधार बनाएको उनको ठम्याइ छ । चुनावी प्रचारका क्रममा आम जनसमुदायबाट प्राप्त भइरहेको अभूतपूर्व माया, स्नेह र समर्थनले आफूलाई थप उत्साहित बनाएको दाहालले बताएकी छन् । विगतको कार्यकालमा सम्पादन गरेका विकास निर्माणका कामहरू र जनतासँगको प्रत्यक्ष सामिप्यताले गर्दा नै यसपटकको निर्वाचनमा आफूप्रति जनलहर सिर्जना भएको उनको दाबी छ ।

चितवनको राजनीतिमा निर्णायक मानिने यस क्षेत्रमा घरदैलोलाई तीव्रता दिइरहेकी दाहालले मतदाताको उत्साहलाई आफ्नो राजनीतिक यात्राको ऊर्जाका रूपमा लिएकी छन् । स्थानीय विकास र समृद्धिका एजेन्डाहरू बोकेर जनताको घरदैलोमा पुग्दा देखिएको सद्भावले जितप्रति आशावादी तुल्याए पनि उनले हार-जितलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा व्याख्या गरेकी हुन् ।


सम्बन्धित समाचार