Logo

४ फागुन,भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले बाँकी रहेका करिब पाँच लाख मतपत्र आजै साँझसम्म छपाइ सम्पन्न गर्ने जनाएको छ । केन्द्रले निर्धारण गरिएको समयसीमाभन्दा अगाडि नै काम सक्ने लक्ष्यका साथ तीव्र गतिमा छपाइ कार्य अगाडि बढाएको हो ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेल ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा अब बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा सम्पन्न गरिनेछ ।

उनले भने, “हामीले ४२ दिनको कार्यतालिका बनाएर मतपत्र छपाइ सुरु गरेका थियौं । तर निरन्तर मेहनत र व्यवस्थापनका कारण ४० दिनमै छपाइ कार्य सम्पन्न गर्न सफल भएका छौं । दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएका छौं, जसले गर्दा लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न गर्न सम्भव भएको हो ।”

केन्द्रका अनुसार आज छपाइ सम्पन्न भएसँगै भोलिसम्म सबै मतपत्र प्याकिङ गरिसक्ने योजना छ । त्यसपछि बाँकी रहेका जिल्लामा तत्काल ढुवानी सुरु गरिनेछ । मतपत्र सुरक्षित रूपमा सम्बन्धित जिल्लामा पु¥याउन विशेष सावधानी अपनाइएको केन्द्रले जनाएको छ ।

समानुपातिकतर्फका मतपत्र छपाइ कार्यसमेत तीव्र गतिमा अघि बढाइएको छ । केन्द्रले दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरिसकेको र ती मतपत्र जिल्ला–जिल्लामा पठाउने कार्य जारी रहेको जानकारी दिएको छ ।

यसअघि नै छपाइ सम्पन्न गरिएका १० लाख नमूना मतपत्र भने निर्वाचन आयोग मार्फत देशका विभिन्न स्थानमा पुर्‍याइसकिएको छ । ती नमूना मतपत्र निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि तथा मतदाता शिक्षा कार्यक्रमका लागि प्रयोग भइरहेका छन् ।

प्रबन्ध सञ्चालक पौडेलका अनुसार कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश मा आवश्यक सबै मतपत्र पुगिसकेको छ । अन्य प्रदेश तथा जिल्लामा पनि यही माघ १२ गतेभित्र सबै मतपत्र पुर्‍याउने लक्ष्यका साथ ढुवानी कार्य तीव्र पारिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ, प्याकिङ र ढुवानी कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । केन्द्रले सुरक्षा मापदण्ड पालना गर्दै गुणस्तरीय कागज, स्पष्ट छपाइ र आवश्यक सुरक्षाचिह्नसहित मतपत्र तयार गरिएको जनाएको छ ।

निर्वाचन व्यवस्थापनको महत्वपूर्ण पाटो मानिने मतपत्र छपाइ समयमै सम्पन्न हुनु निर्वाचन तयारीको सकारात्मक संकेतका रूपमा हेरिएको छ । सम्बन्धित निकायहरूबीचको समन्वय, जनशक्ति व्यवस्थापन तथा प्राविधिक तयारीका कारण यसपटक छपाइ कार्य प्रभावकारी ढंगले सम्पन्न भएको केन्द्रले दाबी गरेको छ ।


सम्बन्धित समाचार