Logo

वीरगञ्ज, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै दलित समुदाय लक्षित स्वास्थ्य सेवा, शिक्षामा सहज पहुँच र स्थायी रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपाको नेतृत्वमा सरकार गठन भएमा स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा ठोस सुधार गरी जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विकास, रोजगारी, शिक्षा र कृषि क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै हालै सार्वजनिक गरिएको पार्टीको ‘करार पत्र’ अनुसार नै काम गर्ने बताए । “हामीले जनतासँग स्पष्ट करार गरेका छौं । निर्वाचित भएको पाँच वर्षसम्म सोही करार अनुसार काम गर्नेछौं,” उनले भने, “जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो ।”

कानुले समावेशी विकास र सामाजिक न्यायप्रति पार्टी दृढ रहेको उल्लेख गर्दै सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारमार्फत जनविश्वास जित्ने दाबी पनि गरे ।

घरदैलो कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् । नेकपा (एमाले) का दलित नेता शिसम् महारासहित नेपाली काँग्रेस, जसपा नेपालआजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशीहरूले परम्परागत दलहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी रास्वपामा प्रवेश गरेको बताएका छन् । उनीहरूले समावेशी सोच, पारदर्शी राजनीति र जनमुखी एजेन्डा बोकेको रास्वपालाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्सा–२ मा निर्वाचनको माहोल तातेका बेला रास्वपाको सक्रिय घरदैलो र पार्टी प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ । विभिन्न दलका कार्यकर्ताहरूको प्रवेशले उम्मेदवार कानुको चुनावी अभियान थप सशक्त बन्दै गएको दाबी पार्टी नेतृत्वले गरेको छ ।


सम्बन्धित समाचार