Logo

४ फागुन,वीरगञ्ज । पिपुल फ्रष्ट पार्टी ले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदर माथि निर्वाचन प्रचार-प्रसारको क्रममा भएको सांघातिक हमलाप्रति आपत्ति जनाएको छ । पार्टीका संयोजक प्रशान्त सिंह ले सोमबार जारी विज्ञप्ति मार्फत यस घटनालाई दुर्भाग्यपूर्ण र आपत्तिजनक ठहर गर्दै यसको घोर निन्दा गरेका छन् ।

सिंहका अनुसार निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो हमला निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको वातावरणमा प्रश्न उठाउने खालको छ । उनले दोषीहरू पहिचान गरी आवश्यक खोजी तथा छानविन गरी तत्काल कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

उक्त घटनामा घाइते भएका उम्मेदवारको उपचार र पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि पिपुल फ्रष्ट पार्टीले जोड दिएको छ । संयोजक सिंहले भने, “हाम्रो पार्टी निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने यस्ता हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण राख्दछ र यसप्रति संवेदनशील भएर आवश्यक कदम चाल्न सरकार र सुरक्षा निकायसँग माग गर्दछ।”

पिपुल फ्रष्ट पार्टीले विज्ञप्तिमा निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायहरूलाई पनि यस घटनामा विशेष ध्यान दिन आग्रह गरेको छ। पार्टीका अनुसार, उम्मेदवारमाथि हुने कुनै पनि हिंसा लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्‍याउने भएकाले यस्ता घटनालाई रोक्न कडा कदम चालिनु अपरिहार्य रहेको छ।

यस घटनापछि पर्सा–१ मा निर्वाचन सुरक्षा र प्रचार गतिविधिमा उच्च सतर्कता अपनाउने र उम्मेदवारको सुरक्षित मतदान सुनिश्चित गर्ने प्रयास भइरहेको छ।


सम्बन्धित समाचार