४ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको कार्यकारी प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरूको कार्यकालमा नयाँ सीमा तोक्ने गरी कांग्रेसले वैधानिक कदम चाल्ने घोषणा गरेका छन् ।
सोमबार लमजुङमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कुनै पनि व्यक्ति सत्तामा लामो समयसम्म आसन जमाएर बस्ने परम्परालाई अब सधैँका लागि अन्त्य गरिने दाबी गरे। नेपाली राजनीतिमा ‘एक/दुई/तीन/चारको नयाँ सूत्र अघि सार्दै उनले अब उप्रान्त एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने प्रावधानलाई संविधानमै अंकित गरिने प्रतिबद्धता व्यक्त गरे । यस कदमले राजनीतिक नेतृत्वमा नयाँ अनुहारको आगमन र पुस्तान्तरणलाई सुनिश्चित गर्ने उनको तर्क थियो ।
उपसभापति शर्माले कांग्रेसले समयको पदचापलाई बुझेर आफूलाई परिमार्जन गरिसकेको भन्दै बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्ने जिकिर गरे। विशेषगरी युवा पुस्ता र ‘जेनजी विद्रोहको भावनालाई संबोधन गर्न कांग्रेसले शासन व्यवस्थामा केस्राकेस्रा केलाएर सुधारको रोडम्याप तयार पारेको उनले बताए । फागुन २१ गते हुने निर्वाचनमा मतदाताले कांग्रेसको यो परिवर्तनकारी एजेण्डालाई अनुमोदन गर्नेमा उनी विश्वस्त देखिएका छन् । विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ उर्जाका साथ जनतामाझ लगेको बताउँदै शर्माले अबको शासन प्रणाली पारदर्शी र उत्तरदायी हुने दाबी समेत गरेक छन् ।
उनले सम्बोधनका क्रममा नेतृत्वमा रहने निश्चित अवधिले लोकतन्त्रलाई अझ मजबुत बनाउने र शक्ति केन्द्रीकरणको खतरालाई टार्ने विश्वास व्यक्त गरे । कांग्रेसको यो नयाँ नीतिको घोषणालाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ, जसले आगामी निर्वाचनको माहौललाई थप तताएको छ ।

















