५ फाल्गुण, काठमाडौं । आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै हुनुहुन्छ ।
आफ्नै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारिरहनुभएका ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा आयोजित एक विशेष कार्यक्रमका बीच आगामी कार्यकालको विकास खाका (रोडम्याप) प्रस्तुत गर्ने तयारी गर्नुभएको हो । निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार यस प्रतिबद्धता पत्रमा ओलीले सो क्षेत्रको विकासका लागि लिइएका लक्ष्य र पुरा गर्नुपर्ने अधुरा आयोजनाहरूको विस्तृत विवरण समेट्नुभएको छ ।
प्रतिवद्धता पत्रमा केवल भविष्यका योजना मात्र नभई नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र एमाले नेतृत्वको सरकारले विगतमा गरेका जनपक्षीय कामहरूको फेहरिस्त समेत समावेश गरिएको छ । विशेषगरी अघिल्लो सरकारको पालामा सुरु भएका तर बीचमै रोकिएका वा अधुरा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई पूर्णता दिने विषयलाई ओलीले प्राथमिकताका साथ अघि सार्नुभएको बुझिएको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्नुअघि अध्यक्ष ओली आज बिहानैदेखि मतदाता भेटघाटमा व्यस्त रहनुभएको छ । उहाँले आजै दमकका दुम्से, टुकुरे, संगम चोक, र कृष्ण मन्दिर लगायतका विभिन्न स्थानहरूमा पुगेर स्थानीय बासिन्दासँग साक्षात्कार गर्दै मत माग्नुहुने कार्यक्रम रहेको छ । चुनावी प्रचारप्रसारको यो दौडाहा साँझ सूर्य चोकमा पुगेर समापन हुने गरी तय गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
















