Logo

५ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा राजनीतिक माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुको चुनावी घरदैलो कार्यक्रम वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे। कार्यक्रममा रास्वपाका समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’ को नारा लगाएर वातावरण उत्साहपूर्ण बनाएका थिए।

टोल–टोलमा पुगेका कानुले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा जनउत्तरदायी शासनलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताए। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने सन्देश दोहोर्‍याउँदै उनले परम्परागत राजनीतिक अभ्यासबाट निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले रोजगारी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा प्रश्न उठाएका थिए। ती जिज्ञासाको जवाफ दिँदै कानुले क्षेत्रीय विकासलाई योजनाबद्ध र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पछिल्लो समय वीरगंजसहित पर्सा क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू घरदैलो तथा सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन्। अलौंमा सम्पन्न रास्वपाको कार्यक्रमले स्थानीय राजनीतिक माहोल थप तातेको संकेत गरेको छ।


सम्बन्धित समाचार