Logo

५ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सिध्याउन राज्यशक्ति र पुराना दलहरूले गरेको घेराबन्दीीको सनसनीपूर्ण खुलासा गर्दै आसन्न निर्वाचनमा जनताले त्यसको कडा जवाफ दिने दाबी गर्नुभएको छ ।

चितवन–१ मा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मध्यरातमा आफ्नो बेडरुममा छिरेर ‘अन्तिम इच्छा के छ?’ भनी सोधिएको त्रासदपूर्ण घटनाको स्मरण गर्दै भावुक र आक्रामक अभिव्यक्ति दिनुभयो। आफूलाई मानसिक र भौतिक रूपमै सखाप पार्न खोजिएको भए पनि जनताको साथले गर्दा ती सबै षडयन्त्र असफल भएको दाबी गर्दै उहाँले २१ गतेको मतदान केवल निर्वाचन मात्र नभई ३४ वर्षसम्म जनताका सपनामा ‘डोजर ’ चलाउनेहरू विरुद्धको महाक्रान्ति हुने उद्घोष गर्नुभयो ।

लामिछानेले आफू विरुद्ध जिल्लैपिच्छे लगाइएका मुद्दा र भएका अन्यायको कानुनी लडाइँ आफैँ लड्ने स्पष्ट पार्दै तर राज्यका संरचनालाई भर्ती केन्द्र बनाउने र बजेटको नाममा विभेद गर्नेहरूको हिसाब जनताले लिने बताउनुभयो । ‘निलो क्रान्ति’ को उद्गम स्थल चितवनले फेरि एकपटक देशको इतिहास लेख्ने विश्वास व्यक्त गर्दै उहाँले राजनीतिक आडमा गरिएका बेथितिहरूको अन्त्य गर्ने समय आएको उल्लेख गर्नुभयो । चितवनबाट सुरु भएको यो परिवर्तनको लहर अहिले देशैभर फैलिएको र रास्वपा देशकै पहिलो शक्ति बन्ने बाटोमा रहेको उहाँको दाबी थियो ।

सरकार र पुराना शक्तिहरूले आफूलाई जति लुछ्न र उखेल्न खोजे पनि सत्यको जीत निश्चित रहेको भन्दै उहाँले चितवनका मतदातालाई यस पटकको निर्वाचनमा निर्णायक भूमिका खेल्न अपिल गर्नुभयो। आफूलाई मध्यरातमा उठाएर लगेको र मानसिक यातना दिएको हरेक पलको हिसाब फागुन २१ गतेको मतपत्र मार्फत जनताले दिने भन्दै लामिछानेले आफ्नो सम्बोधनका क्रममा विपक्षीहरूलाई कडा चुनौती समेत दिनुभयो।


सम्बन्धित समाचार