Logo

५ फाल्गुण, काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट आफ्नो पार्टी देशकै सबैभन्दा ठूलो र पहिलो शक्ति बन्ने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिनुभएको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सापकोटाले देशभरका गाउँ–गाउँ र नगर–नगरबाट प्राप्त रिपोर्टहरूले नेकपाको पक्षमा जनलहर उर्लिएको दाबी गर्नुभयो । उहाँले आज बिहानसम्मको रिपोर्टिङ र पार्टीको शीर्ष तहको गहन विश्लेषणले नेकपा पहिलो पार्टी बन्ने अकाट्य निष्कर्ष निकालेको जिकिर गर्दै विपक्षी दलहरूलाई कडा चुनौती समेत दिनुभएको छ ।

सापकोटाले निर्वाचनको निष्पक्षता र गरिमामाथि जोड दिँदै आम सञ्चारमाध्यमहरूलाई परिवर्तनको पक्षमा उभिन र सत्यतथ्य समाचार सम्प्रेषण गर्न विशेष आग्रह गर्नुभयो । नेपाली प्रेसले विगतका जनआन्दोलन र राजनीतिक परिवर्तनमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उहाँले आसन्न निर्वाचनमा पनि लोकतन्त्र र जनताको समृद्धिको पक्षमा सशक्त ढङ्गले कलम चलाउन पत्रकारहरूलाई आह्वान गर्नुभयो । नेता सापकोटाको यो आत्मविश्वासपूर्ण अभिव्यक्तिले यतिबेला पेरिसडाँडामा मात्र नभई सामाजिक सञ्जाल र अन्य राजनीतिक दलका मुख्यालयहरूमा समेत नेकपाको वास्तविक शक्तिको विषयमा नयाँ बहस र चर्चा सुरु गरिदिएको छ ।

निर्वाचनको स्वच्छ प्रतिस्पर्धामाथि कुनै पनि किसिमको धाँधली वा चलखेल हुन नदिन सापकोटाले निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले निर्वाचन आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्न र स्वच्छ वातावरण सुनिश्चित गर्न आयोगले दह्रो कदम चाल्नुपर्नेमा जोड दिनुभयो। नेकपा पहिलो पार्टी बन्ने कुरा अब केवल अनुमान मात्र होइन, यो जनस्तरबाट आएको स्पष्ट रिपोर्ट हो,’ भन्दै सापकोटाले आफ्नो पार्टीले देशको नेतृत्व गर्ने अवसर पाउनेमा कुनै शङ्का नरहेको दाबी गर्नुभयो।


सम्बन्धित समाचार