Logo

६ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार वीरगञ्ज महानगरपालिका–३ छपकैया मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उनले स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै आफ्ना विकास योजना र प्रतिबद्धताहरू सार्वजनिक गरे। घरदैलो अभियानमा कानुले रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने अठोट व्यक्त गर्दै जनताको जीवनस्तर उकास्ने र भुइँ तहका नागरिकको आवाज संसद्मा पुर्‍याउने बताए।

“मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु–प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ।”

कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि रोजगारी, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। “आज पनि यो क्षेत्र २० वर्षअघिकै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु।”

आफूसँग कार्यानुभव रहेको दाबी गर्दै उनले मतदातालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गरे। साथै, रास्वपाका सबै उम्मेदवारलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने दाबीसमेत गरे।

कानुले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै मुस्लिम महिला र युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारासमेत लगाएका थिए।


सम्बन्धित समाचार