६ फागुन,चितवन । चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहाललाई जिताउन चितवनका बुद्धिजीवीहरू सक्रिय भएका छन्। बुधबार बिहान भरतपुरमा बसेको बुद्धिजीवीहरूको भेलाले दाहालको पक्षमा संगठित रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
भेलाले वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा भरतपुरदेखि माडीसम्म सात वटा क्लस्टर निर्माण गरेको छ। प्रत्येक क्लस्टरमा संयोजक तोकी आजदेखि ‘रेनु जिताउ अभियान’ सुरु गरिएको संयोजक डा. अधिकारीले जानकारी दिए।
उनका अनुसार भरतपुर महानगरपालिका–६, ८ र ९ मा प्राध्यापक विनोदखण्ड तिमल्सिनालाई संयोजक तोकिएको छ भने वडा नम्बर १३, १४ र २२ मा समाजसेवी तथा युवा व्यवसायी राजु पौडेललाई जिम्मेवारी दिइएको छ। वडा नम्बर २१, २३, २४ र २५ मा होमनाथ भण्डारी, वडा नम्बर १५ र १६ मा बुद्धि ढुङ्गाना, तथा वडा नम्बर १७, १८, १९ र २० मा नेपाल बुद्धिजीवी संगठन का जिल्ला अध्यक्ष नारायण रेग्मीलाई संयोजक बनाइएको छ।
त्यस्तै, वडा नम्बर २६ देखि २८ सम्म अभियान सञ्चालन गर्न व्यवसायी मित्रराज दवाडी र प्राध्यापक टीका देवकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ।
संयोजक डा. अधिकारीका अनुसार भरतपुरको विकासमा मोडल प्रस्तुत गरेकी नेतृ दाहाल संघीय संसदमा पुगेर जनपक्षीय कानुन निर्माणमार्फत सिङ्गो चितवनको विकासमा योगदान पुर्याउन सक्ने विश्वासका आधारमा बुद्धिजीवीहरू अभियानमा जुटेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी बाट उम्मेदवार रहेकी दाहालले भेलामा सहभागी हुँदै बुद्धिजीवीहरूले नागरिक अभियानको उद्घोष गरेकोमा धन्यवाद व्यक्त गरिन्। साथै उनले विकास र जनपक्षीय मुद्दाका लागि टोल–टोलमा पुगेर अभियान सञ्चालन गर्न आग्रह गरिन्।
भेलामा प्राध्यापक, अधिवक्ता, शिक्षक, पत्रकार तथा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो। भरतपुरदेखि माडीसम्मका सबै क्लस्टरमा रहेका बुद्धिजीवीहरूले आजदेखि सक्रिय रूपमा ‘रेनु दाहाल जिताउ’ अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















