६ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र सामाजिक असन्तुष्टिलाई चिर्न भावनात्मक उत्तेजनाभन्दा ठोस सुधारको मार्गचित्र आवश्यक रहेकोमा जोड दिएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै थापाले नेपाली राजनीतिमा बढ्दो आक्रोश र आवेगले क्षणिक सन्तोष दिए पनि त्यसले देश निर्माणको दीर्घकालीन आधार तय गर्न नसक्ने विश्लेषण गरे । पछिल्लो एक दशकमा अपेक्षा गरिएअनुसार विकासको गति अघि बढ्न नसकेको स्वीकार गर्दै उनले अबको पाँच वर्षलाई कुनै पनि हालतमा खेर जान नदिने गरी कांग्रेसले स्पष्ट कार्ययोजना र संकल्पसहित आफूलाई प्रस्तुत गरेको दाबी गरे। युवा पुस्तामा देखिएको चरम निराशा र वर्तमान राज्य सञ्चालन पद्धतिप्रतिको गुनासोलाई स्वभाविक मान्दै उनले यसलाई रचनात्मक सुधारमा बदल्नु नै आजको मुख्य चुनौती रहेको उल्लेख गरे।
सभापति थापाले देश निर्माणको प्रक्रियामा ‘म मात्र असल र अरू सबै खराब’ भन्ने एकाङ्गी र निषेधको राजनीतिले मुलुकलाई अझै दलदलमा फसाउने चेतावनी दिएका छन् । राजनीतिमा वैचारिक विमति र प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्यको संस्कृति अपरिहार्य रहेको उनको तर्क छ । एमाले, माओवादी, रास्वपा र जसपा लगायतका सबै राजनीतिक दलहरूको आ–आफ्नो अस्तित्व र भूमिका रहेको भन्दै थापाले सबैलाई समेटेर अघि बढ्ने अभिभावकीय भूमिका नेपाली कांग्रेसले नै निर्वाह गर्ने जिकिर गरे । उत्तेजना र रिसको भरमा व्यवस्था परिवर्तनको नारा लगाउनु भन्दा पनि उपलब्ध उपलब्धिहरूको जगमा टेकेर प्रणालीभित्रैबाट सुधारको ग्यारेन्टी गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
विशेषगरी युवाहरूको आकांक्षा र देशको धरातलीय यथार्थबीचको खाडल पुर्न अबको नेतृत्वले ‘कुन दिन के गर्ने’ भन्ने स्पष्ट कार्यतालिकासहित काम गर्नुपर्ने थापाको विश्लेषण छ । उनले विगतका कमजोरीहरूको हिस्सा कांग्रेस पनि भएको इमानदार स्वीकारोक्ति गर्दै आगामी दिनमा नीतिगत र कार्यगत दुवै तहमा व्यापक परिवर्तनको खाँचो रहेको औंल्याए ।
सबै पक्षलाई विश्वासमा लिएर मुलुकलाई निकास दिने जिम्मेवारी अब कांग्रेसको काँधमा आएको भन्दै उनले नागरिकलाई धैर्य रहन र लोकतान्त्रिक विधिमार्फत नै सुधारको बाटो पहिल्याउन अपिल गरेका छन् ।

















