Logo

६ फाल्गुण, काठमाडौं । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडियो सन्देशले वर्तमान राजनीतिक प्रणाली र आसन्न निर्वाचनको औचित्यमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

मुलुक यतिबेला गम्भीर राष्ट्रिय संकट र अन्योलको भुमरीमा फसेको उल्लेख गर्दै उनले विद्यमान समस्याहरूको स्थायी समाधान नखोजी केवल निर्वाचनमा मात्र होमिनु प्रत्युत्पादक हुने धारणा व्यक्त गरेका छन् । प्रजातन्त्रमा आवधिक निर्वाचन एक अनिवार्य प्रक्रिया भए तापनि वर्तमान परिस्थिति सामान्य नरहेको र आम जनभावनाले पहिले राष्ट्रिय मुद्दाहरूको किनारा लागोस् भन्ने चाहेको शाहको विश्लेषण छ । निर्वाचन पछिको सम्भावित सत्ता खिचातानी, अशान्ति र द्वन्द्वलाई टार्नका लागि सबै पक्षबीच एउटा ठोस राष्ट्रिय समझदारी र सहमति निर्माण गरेर मात्र अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन् ।

पूर्वराजाको सम्बोधनमा वर्तमान राज्य सञ्चालनको शैली र राजनीतिक दलहरूको ‘भागबण्डाको संस्कृति’ प्रति कडा कटाक्ष गरिएको छ । अधिकारको खोजी गर्ने तर कर्तव्यलाई बिर्सने प्रवृत्तिले मुलुकलाई इतिहासकै दर्दनाक स्थितिमा पुर्‍याएको भन्दै उनले ‘आलोपालो भाग लगाएर खाऔँ’ भन्ने संकीर्ण सोच त्यागेर मिलेर जाऔँ भन्ने सामूहिक कर्तव्यबोध अंगाल्न राजनीतिक नेतृत्वलाई आह्वान गरेका छन् ।

देशको अस्मिता र अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको दाबी गर्दै उनले विगतका आन्दोलन र परिवर्तनहरूले नेपाली जनताको जीवनमा कस्तो तात्विक परिवर्तन ल्यायो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् । उनले वर्तमान व्यवस्थामा जनता कसैलाई खुसी पार्नुपर्ने वा कसैबाट निर्देशित हुनुपर्ने बाध्यात्मक जञ्जिरुमा बाँधिएको भन्दै यसबाट मुक्ति खोज्नुपर्ने संकेत गरेका छन् ।

सन्देशको अन्त्यमा पूर्वराजाले नेपालको भू–बनोट र सामाजिक प्रकृति सुहाउँदो व्यवस्थाको आवश्यकता औंल्याउँदै परनिर्भरता त्याग्न अपिल गरेका छन् । विश्वका अन्य राष्ट्रहरूले आफ्नो देश र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर प्रजातन्त्रको अभ्यास गरिरहेको उदाहरण दिँदै उनले नेपालले पनि आफ्नो धरातलीय यथार्थमा उभिएर प्रणालीको ‘प्रशोधन र परिमार्जन’ गर्नुपर्ने धारणा राखेका छन् । विदेशीको भरमा परेर ‘अक्करमा नपर्न’ सचेत गराउँदै शाहले राजसंस्था र जनताको संयुक्त प्रयत्नबाट स्थापित प्रजातन्त्रको मर्मलाई आत्मसात् गर्दै सबै विचार र संस्कारलाई समेट्ने समन्वयकारी राजनीतिको वकालत गरेका छन् ।

यो सन्देशले वर्तमान व्यवस्थाका खराब पक्षहरूलाई फालेर समयानुकूल परिवर्तनको बाटो रोज्न आम जनता र राजनीतिक शक्तिहरूलाई एउटा नयाँ बहसको निम्तो दिएको देखिन्छ ।


सम्बन्धित समाचार