७ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफ्नो सम्पूर्ण ध्यान मधेश प्रदेशमा केन्द्रित गरेको छ ।
निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सीमाभित्रै मतदातामाझ पुग्ने लक्ष्यका साथ राप्रपाले मधेशका विभिन्न जिल्लाहरूमा घनीभूत चुनावी अभियान सुरु गरेको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज सप्तरीको भारदहमा दिउँसो १ बजे आयोजना हुने विशाल आमसभालाई सम्बोधन गर्न राप्रपाका शीर्ष नेताहरू त्यसतर्फ प्रस्थान गरेका छन् । यस आमसभाले तराई–मधेशमा पार्टीको पकड बलियो बनाउने र स्थानीय मुद्दाहरूलाई राष्ट्रिय राजनीतिमा जोड्ने अपेक्षा राप्रपाले लिएको छ ।
सप्तरीको कार्यक्रम लगत्तै राप्रपाले मधेशका अन्य जिल्लाहरूमा पनि साताव्यापी कोणसभा र घरदैलो अभियानको तालिका सार्वजनिक गरेको छ। फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा चुनावी कोणसभाहरू तय गरिएका छन् भने ९ गते शनिबार बारा र पर्साका विभिन्न स्थानमा नेताहरूले मतदातासँग संवाद गर्नेछन् । त्यसैगरी, फागुन १० र ११ गते क्रमशः रौतहट, सर्लाही, धनुषा र महोत्तरीमा चुनावी कार्यक्रमहरू सञ्चालन गरिनेछन्। फागुन १८ गतेदेखि सुरु हुने ‘मौन अवधि’ अगावै मधेशका अधिकतम क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन राप्रपाले यस पटक आक्रामक चुनावी रणनीति अख्तियार गरेको देखिन्छ ।
यस पटकको निर्वाचनमा राप्रपाले १६५ निर्वाचन क्षेत्रमध्ये १६३ सिटमा आफ्ना उम्मेदवारहरू उठाएर प्रत्यक्षतर्फ दह्रो उपस्थिति जनाएको छ । समानुपातिकतर्फ पनि पार्टीले ११० जनाकै नाम निर्वाचन आयोगमा बुझाएर पूर्ण सूची तयार पारेको छ । देशभरका कूल ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवार र ३ हजार १३५ समानुपातिक उम्मेदवारहरू चुनावी मैदानमा रहँदा राप्रपाले विशेषगरी मधेशको मत परिणामलाई आफ्नो पक्षमा पार्न संगठन विस्तार र प्रचारप्रसारमा ठूलो शक्ति खर्चिएको छ । प्रत्यक्षतर्फको ‘फर्स्ट पास्ट द पोस्ट’ र समानुपातिकको मतभार दुवैलाई सन्तुलनमा राख्दै संसद्मा आफ्नो शक्ति बढाउने दाउमा राप्रपा देखिएको छ ।

















