Logo

७ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सिए अजय चौरसियाले वीरगंज महानगरपालिकाको वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पर्सा जिल्ला मात्र नभई समग्र मुलुकको समुन्नत निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्वको पहिचान गरी मतदान गर्न आग्रह गरे।

उनले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि पढेलेखेको, जानकार र जवाफदेही नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।

चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिँदै यसअघि निर्वाचित प्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन गर्दै यस पटक क्षेत्र र यहाँका जनताको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखेर मतदान गर्नुपर्ने बताए।

जनतासँगको संवादका क्रममा उनले भने, “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो। आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ।”

कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपाको तारा छापमा मतदान गर्न आग्रह गर्दै पारदर्शी, जवाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन मतदातासमक्ष अपिल गरे।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापा, स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित सम्पन्न उक्त कार्यक्रममार्फत नेकपाले प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै सुशासन र जिम्मेवार नेतृत्वको एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।


सम्बन्धित समाचार