Logo

७ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि आफ्नो स्वास्थ्य नीति सार्वजनिक गर्दै मुलुकमा जस्तोसुकै कडा रोगको पनि निःशुल्क उपचार गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

बिहीबार पार्टीको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने क्रममा सभापति गगनकुमार थापाले वर्तमानमा अलपत्र अवस्थामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा परिमार्जन र व्यवस्थित बनाउने उद्घोष गरे । कुनै पनि नेपाली नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने सुनिश्चितता गर्दै कांग्रेसले ुएकीकृत स्वास्थ्य प्रणालीु मार्फत घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने संकल्प गरेको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि केवल ठूला भवन र भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने तर्क गर्दै सभापति थापाले जनशक्ति परिचालन र व्यवस्थापकीय सुधारमा जोड दिएका छन् । उनले स्वास्थ्य सेवाको लागत घटाउने, दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउने र विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने स्पष्ट मार्गचित्र प्रस्तुत गरे। नेपालको वर्तमान आर्थिक र प्राविधिक अवस्थामा ‘फ्री हेल्थ केयर’ (निःशुल्क स्वास्थ्य सेवा) सम्भव रहेको दाबी गर्दै थापाले यसका लागि आवश्यक स्रोत र एकीकृत योजनाको खाका प्रतिज्ञापत्रमा समेटिएको जानकारी दिए ।

कांग्रेसले आफ्नो चुनावी एजेण्डामा स्वास्थ्यलाई मौलिक हकको प्रभावकारी कार्यान्वयनका रूपमा व्याख्या गर्दै उपचारका लागि ऋण लिनुपर्ने र जायजेथा बेच्नुपर्ने विवशताको अन्त्य गर्ने आश्वासन दिएको छ । सरकारी अस्पतालहरूको स्तरोन्नति र बीमा कार्यक्रमको दायरा विस्तारलाई मुख्य प्राथमिकतामा राखेको कांग्रेसले यो योजना केवल चुनावी नारा मात्र नभई कार्यान्वयनयोग्य ठोस प्रतिवद्धता भएको जिकिर गरेको छ । एकीकृत प्रणालीमार्फत स्रोतको न्यायोचित वितरण गरेर स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिनेमा कांग्रेसले दृढ विश्वास व्यक्त गरेको छ ।


सम्बन्धित समाचार