७ फाल्गुण, काठमाडौं । कर्णालीको राजधानी वीरेन्द्रनगरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्ने क्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले मुलुकको राजनीतिक र प्रशासनिक बेथितिमाथि कडा प्रहार गर्दै सुधारका ठोस संकल्पहरू प्रस्तुत गरेका छन् ।
सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले २०४६ सालको राजनीतिक परिवर्तनयता राज्यको ढुकुटी लुट्ने र भ्रष्टाचारमा संलग्न हुने जोसुकै भए पनि तिनीहरूको सम्पत्ति छानबिन गर्न ‘शक्तिशाली उच्च आयोग’ गठन गर्ने आफ्नो पार्टीको पहिलो सर्त हुने उद्घोष गरे । उनले यो वाचापत्र केवल चुनावी नारा नभई जनतासँग गरिएको ‘लिखित सम्झौता’ भएको दाबी गर्दै अबको निर्वाचन पुराना दलहरूको ‘सिन्डिकेट’ अन्त्य गर्ने अन्तिम लडाइँ भएको जिकिर गरे ।
कार्यक्रमका अर्का मुख्य वक्ता एवं वरिष्ठ नेता बालेन साहले सुशासनको जग बसाल्न राज्यका महत्वपूर्ण संस्थाहरूलाई राजनीतिक भागबण्डा र दलीयकरणबाट पूर्ण रूपमा मुक्त गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालका विश्वविद्यालय, न्यायालय र संवैधानिक निकायहरू दलीय कार्यकर्ताको भर्ती केन्द्र बनेकाले ती संस्थाहरूलाई स्वतन्त्र विज्ञहरूको नेतृत्वमा सुम्पिने रास्वपाको मुख्य कार्यसूची रहेको स्पष्ट पारेका छन् । युवा पुस्ताको भावनालाई सम्बोधन गर्दै साहले अबको राजनीति चटक र आश्वासनमा मात्र सीमित नभई परिणाममुखी र प्रविधिमैत्री हुने तर्क अघि सारे ।
वाचापत्रमा विशेषगरी वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवाहरूलाई मताधिकार दिने विषयलाई प्रमुखताका साथ उठाइएको छ । रवि र बालेन दुवैले डायस्पोरामा रहेका नेपालीको सीप र भोटलाई देश निर्माणमा जोड्ने प्रतिवद्धता दोहोर्याएका छन् । आर्थिक समृद्धिका लागि डिजिटल अर्थतन्त्रको विकास र कर्णाली जस्ता दुर्गम क्षेत्रका लागि विशेष आर्थिक प्याकेजमार्फत उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य रास्वपाले लिएको छ ।
यी दुई चर्चित युवा नेताहरूको संयुक्त सम्बोधनले आगामी निर्वाचनमा भ्रष्टाचार विरोधी लहर सिर्जना गर्ने र पुराना राजनीतिक शक्तिहरूलाई कडा चुनौती दिने संकेत गरेको छ ।

















