८ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय देखिएका छन्। प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा दलहरू व्यस्त छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि सिए अजय चौरसिया घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार चौरसियाले वीरगंज महानगरपालिकाको श्रीपुर वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पर्सा जिल्ला मात्र नभई समग्र मुलुकको समुन्नत निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्व चयन गर्न आग्रह गरे। उनले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि शिक्षित, जानकार र जवाफदेही नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो,” उनले भने, “आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ।”
चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिँदै यसअघि निर्वाचित प्रतिनिधिहरूको कामको मूल्याङ्कन गरेर यस पटक क्षेत्रको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखी मतदान गर्नुपर्ने बताए।
कार्यक्रमको अन्त्यमा उनले आगामी निर्वाचनमा नेकपाको ‘तारा’ छापमा मतदान गर्न मतदातासमक्ष अपिल गर्दै पारदर्शी, जवाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन आग्रह गरे।

















