८ फाल्गुण, काठमाडौँ । दाङमा नेकपा (एमाले) को निर्वाचन चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट पारेको छ ।
एमाले निकट युवा संघले रास्वपा कार्यकर्तामाथि आरोप लगाउँदै माफी माग्न चेतावनी दिएको केही समयमै रास्वपा दाङका सभापति विनय घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो । रास्वपाले यस कार्यलाई आफ्नो बढ्दो लोकप्रियताबाट अत्तालिएका तत्वहरूले गराएको ‘सुनियोजित घुसपैठ’ र भ्रमपूर्ण वातावरणको संज्ञा दिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार, पार्टीका केन्द्रीय सभापति रवि लामिछाने सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक पेटीमा स्वतःस्फूर्त रूपमा स्वागतमा उत्रिएका शुभेच्छुकहरूको विशाल उपस्थितिलाई धुमिल बनाउन अवाञ्छित तत्वहरूले यस्तो हर्कत गरेका हुन् । रास्वपाले आफू विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा अटुट विश्वास राख्ने पार्टी भएको दाबी गर्दै यस्ता अलोकतान्त्रिक क्रियाकलाप आफ्नो दलको आदर्शविपरीत रहेको स्पष्ट पारेको छ । सभापति घिमिरेले राजनीतिक प्रतिशोध साध्नका लागि गरिएको यस्तो कार्यले लोकतन्त्रलाई नै कमजोर बनाउने उल्लेख गर्नुभएको छ ।
रास्वपाले केवल खण्डन मात्र नगरी उक्त घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग समेत गरेको छ । झण्डा जलाउने जस्तो अनैतिक कार्यमा संलग्न व्यक्तिहरू जोसुकै भए पनि उनीहरूलाई कानुनी कारबाही हुनुपर्ने अडान रास्वपाले लिएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो आरोप–प्रत्यारोपले दाङको राजनीतिक वातावरण केही तनावपूर्ण बने पनि रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई संयमित रहन र कुनै पनि उक्साहटमा नलाग्न आग्रह गरेको छ ।

















