८ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको तीव्र प्रचारप्रसारमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अचानक अस्वस्थ भएपछि चुनावी अभियानलाई बीचमै छाडेर काठमाडौँ फर्किएका छन् ।
सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल सभालाई सम्बोधन गरेर बुधबार राति सुर्खेत पुगेका शाहको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । पेट दुख्ने, निरन्तर वान्ता हुने र अत्यधिक कमजोरी महसुस भएपछि उहाँलाई राति ३ बजे सुर्खेतस्थित कर्णाली केयर इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा करिब तीन घण्टासम्म चलेको आकस्मिक उपचार र स्वास्थ्य परीक्षणपछि शाह बिहीबार बिहान ६ बजे डिस्चार्ज हुनुभएको थियो ।
कित्सकहरूका अनुसार शाहलाई निरन्तरको यात्राका कारण हुने ‘ट्राभल विकनेस’ (यात्राजन्य थकान) र खानपानमा असन्तुलनले गर्दा गम्भीर कमजोरी देखिएको हो । अस्पतालबाट निक्लिएपछि उहाँले बिहीबार सुर्खेतमा आयोजित पार्टीको ‘वाचापत्र’ सार्वजनिक कार्यक्रममा सहभागी भई करिब ३ मिनेट संक्षिप्त मन्तव्य समेत राख्नुभएको थियो । तर, स्वास्थ्यमा थप जटिलता नआओस् भनी चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सुझाव दिएपछि उहाँ सोही दिन काठमाडौँ फर्कनुभएको हो ।
वरिष्ठ नेता शाह अस्वस्थ भएसँगै रास्वपाले आफ्ना चुनावी कार्यक्रमहरूको कार्यतालिकामा हेरफेर गरेको छ । सुर्खेतपछि दाङ, भैरहवा र पोखरामा तय गरिएका ठूला चुनावी सभाहरू प्रभावित भएका छन् । शनिबार र आइतबारका लागि तय गरिएका भैरहवा र पोखराका कार्यक्रमहरू हाललाई स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ । शाहको सचिवालयका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र पूर्ण रूपमा स्वास्थ्यलाभ गरेपछि नयाँ कार्यतालिका सहित उहाँ पुनः चुनावी मैदानमा उत्रिनुहुनेछ । निर्वाचनको मुखमा पार्टीका एक प्रभावशाली हस्ती अस्वस्थ हुँदा रास्वपाको चुनावी अभियानमा केही समयका लागि सुस्तता देखिएको छ ।

















