Logo

८ फागुन, वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

शुक्रबार रास्वपाको केन्द्रीय कार्यालयमा पठाएको राजीनामा पत्रमा चौधरीले “आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु” भनी उल्लेख गरेका छन्।

चौधरीले पार्टी आफ्नो मूल नाराअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएको थिएँ,” उनले भनेका छन्, “तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेको छु।”

उनले संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि भएको र पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप समेत लगाएका छन्। “मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देखिन्छ, जसबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आएको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका संस्थापक सदस्यसमेत हुन्। उनी बाराका सहसचिवको जिम्मेवारीमा रहेर २०७९ सालदेखि पार्टीमा सक्रिय थिए।


सम्बन्धित समाचार