Logo

९ फागुन, कलैया । नेपाल विद्युत् प्राधिकरण, कलैया वितरण केन्द्रका एक कर्मचारीमाथि विद्युत् चोरी (हुकिङ) नियन्त्रणको बहानामा सर्वसाधारणसँग अवैध रकम असुली गरेको गम्भीर आरोप लागेको छ । केन्द्रमा कार्यरत सिनियर मिटर रिडर शत्रुघ्न प्रसाद यादवले उपभोक्तालाई डरधम्की देखाएर रकम असुल्ने गरेको तथ्य सार्वजनिक भएको हो ।

यादवले आफ्नो कार्यक्षेत्र भित्रका गाउँहरूमा मिटर रिडिङ गर्ने क्रममा विद्युत् हुकिङ गरेको आरोप लगाउँदै घरायसी प्रयोजनका मोटरहरू जफत गर्ने र पछि मोटो रकम लिएर मात्र फिर्ता गर्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन्।  आफू कार्यालय प्रमुखको निकट व्यक्ति भएको दाबी गर्दै उनले उपभोक्तामाथि दबाब सिर्जना गरी ‘मिलापत्र’का नाममा अवैध असुली धन्दा चलाउँदै आएको दाबी स्थानीयको छ ।

स्थानीय स्रोतका अनुसार यादवले विशेष गरी विपन्न र पहुँच नभएका उपभोक्तालाई लक्षित गरी विद्युत् चोरीको मुद्दा लगाइदिने धम्की दिने गरेका छन् । जफत गरिएका मोटरहरू कार्यालयमा बुझाउनुको सट्टा आफ्नै नियन्त्रणमा राखेर पैसाको बार्गेनिङ गर्ने गरेको पाइएपछि स्थानीय स्तरमा तीव्र आक्रोश बढेको छ ।

“विद्युत् चोरी नियन्त्रण गर्ने बहानामा कर्मचारीले नै व्यक्तिगत स्वार्थका लागि धाकधम्की दिनु विडम्बना हो,” एक पीडित स्थानीयले भने, “कानुनी प्रक्रिया भन्दा पनि गोजी भर्ने काम भइरहेको छ।”

यस विषयमा सार्वजनिक रूपमा विरोध र दबाब बढेपछि कलैया वितरण केन्द्रका प्रमुख हिमान्सु प्रसाद यादवले चासो देखाएका छन् । प्रमुख यादवले आरोपित कर्मचारीलाई तत्काल उपभोक्तासँग लिएको रकम फिर्ता गर्न र जफत गरिएका मोटरहरू कार्यालयमा बुझाउन निर्देशन दिएको जानकारी दिएका छन् ।

“घटनाका बारेमा गुनासो प्राप्त भएको छ, हामी यसको आन्तरिक छानबिन गर्दैछौँ,” कार्यालय प्रमुख यादवले भने, “यदि कर्मचारी दोषी पाइएमा नियमानुसार कडा कारबाही गरिनेछ । विद्युत् चोरी नियन्त्रणको काम पारदर्शी र कानुनी हुनुपर्छ।”

कर्मचारीको यस्तो प्रवृत्तिले सरकारी निकायप्रतिको जनविश्वास घट्दै गएको भन्दै स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि हदैसम्मको कारबाही माग गरेका छन् ।


सम्बन्धित समाचार