९ फागुन,वीरगञ्ज । बाराको आदर्श कोतवाल–१ स्थित श्री नेरा आधारभूत विद्यालयमा खाजा बनाउन प्रयोग गरिने ग्यास चुल्हो र भाँडाकुँडा स्थानीयहरूले नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा रोक्ने घटना सार्वजनिक भएको छ। यसले स्थानीय तहमा चासो र आक्रोश बढाएको छ।
स्थानीय स्रोतका अनुसार, विद्यालयका कार्यालय सहयोगीले खाजा बनाउन प्रयोग गरिने ग्यास चुल्हो र भाँडाकुँडा बाहिर लैजाँदै गर्दा स्थानीयले रोकेका थिए। उनीहरूको भनाइ अनुसार, सार्वजनिक विद्यालयको समान राजनीतिक कार्यक्रममा प्रयोग गर्न खोज्नु अनुचित र गैरकानुनी हो।
घटनाको पृष्ठभूमि बुझ्दा विद्यालयमा कार्यरत शिक्षक नवल किशोर साहले नेताहरूलाई चिया पकाउनको लागि आवश्यक सामग्री विद्यालय कार्यालय सहयोगीमार्फत ल्याइदिन निर्देशन दिएका थिए। यस विषयमा प्रधानाध्यापक सुरेश पण्डितसँग जब बुझाइयो, उनले विद्यालयको समान पार्टीको कार्यक्रममा लैजाने कुरा स्वीकार गर्दै बताए कि स्थानीयले रोक्नु भएपछि सामान फिर्ता गरेर अहिले विद्यालयमै राखिएको छ।
प्रधानाध्यापक पण्डितले नेपाल न्यूजसँग भने, “आज सार्वजनिक बिदा भएको कारण म घरमै थिएँ। पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले फोन गरेर जानकारी दिएपछि मैले बुझेर उक्त सामान फिर्ता गर्न लगाएँ।”
स्थानीयहरूले विद्यालयको समान राजनीतिक कार्यक्रमका लागि प्रयोग गर्न खोजिएको विषयमा गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले विद्यालय जस्तो सार्वजनिक संस्थाको सम्पत्ति राजनीतिक उद्देश्यमा प्रयोग गर्नु उचित नभएको र यसले स्थानीयस्तरमा असन्तोष फैलाएको बताएका छन्। स्थानीयले प्रश्न उठाएका छन्, “विद्यालयको सम्पत्ति यसरी दुरुपयोग गर्ने अधिकार कसले दियो?”
स्थानीय स्तरका नागरिकका अनुसार, यो घटना बारम्बार दोहोरिएको छ र विद्यालयको सामान राजनीतिक कार्यक्रम, चियापान वा व्यक्तिगत प्रयोजनका लागि प्रायः दुरुपयोग हुँदै आएको छ। उनीहरूले विद्यालय व्यवस्थापन समितिले यस प्रकारका घटनामा स्पष्ट नीति बनाउनु आवश्यक रहेको बताए।
विद्यालयको सार्वजनिक सामग्री दुरुपयोग हुन नदिन समुदायले प्रशासन, विद्यालय व्यवस्थापन समिति र सरोकारवालालाई सचेत हुन आग्रह गरेको छ। स्थानीयहरूले यस विषयमा सचेतना बढाउन र भविष्यमा यस्ता घटनाको दोहोरिन नदिन तत्काल कदम उठाउनुपर्ने जोड दिएका छन्।
यस प्रकारको घटना स्थानीय तहमा सार्वजनिक संस्थाको सम्पत्ति राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नुको नकारात्मक प्रभावलाई उजागर गर्छ र नागरिकमा चेतना र अधिकारको सवाल उठाउँछ।

















