९ फागुन,वीरगञ्ज । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्वारा लाठीचार्ज गरिएको छ।
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए। बाटोमा कांग्रेस कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूबीच जम्काभेट हुँदा विवाद बढेर हात हालाहाल भएको थियो।
परिस्थिति असामान्य भएपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको जानकारी सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेले दिनुभयो। उनले भने, “हात हालाहाल गर्ने कार्यकर्ताहरू छिमेकी नै थिए, तर राजनीतिक दल फरक भएकाले विवाद भएको थियो। सो क्रममा झडपको अवस्था बनेको थियो।”
एसपी थेवेका अनुसार, झडपमा कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि लाठीचार्ज गरिएको थियो। प्रहरीका अनुसार घटनामा ठूलो क्षति वा गम्भीर घाइतेको रिपोर्ट प्राप्त भएको छैन, तर विवादले स्थानीय चुनावी अभियानमा अस्थिरता उत्पन्न गरेको छ।
प्रहरीले भने, आगामी दिनमा चुनावी कार्यक्रममा सुरक्षा व्यवस्था कडा गर्ने र यस्ता झडप रोक्न आवश्यक कदम उठाइनेछ।

















