९ फागुन,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले तोकेको साधारण तारेखप्रति आपत्ति जनाएका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए। उनले भने, “सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक जटिल परिस्थितिमा फसेको बेला निर्णय समयमै आउनुपर्थ्यो। निर्वाचनपछि साधारण तारेख तोक्नु व्यावहारिक रूपमा अर्थहीन छ।”
ओलीले यस विषयलाई सैद्धान्तिक दृष्टिले पनि भविष्यका लागि नजिर बस्ने मामिला ठहर गर्दै समयमै न्याय नपाउँदा म्याद गुज्रिएको औषधि जस्तै हुने बताए। उनले भने, “सिद्धान्तका लागि नजिर बस्ला, तर न्याय अर्थपूर्ण हुनुपर्छ। म्याद गुज्रिएको न्याय ‘डेट एक्सपायर्ड’ जस्तो हुन्छ।”
उनले यो मुद्दामा समयमै निर्णय हुनुपर्ने र न्यायले वास्तविक प्रभाव दिनुपर्नेमा जोड दिएका छन्।

















