९ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।
यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ को दरदर्वा र इनर्वा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। उहाँले आफ्नो चुनाव चिन्ह ‘आँखा’ छापमा मतदान गरी विजयी बनाउन मतदातासँग अपिल गर्नुभएको थियो।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले आँखा छापमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचित भएपछिसमेत जनतासँग निरन्तर सम्पर्कमा रहन सुझाव दिएका छन्।
उम्मेदवार दासले जिल्लाको कृषि, व्यापारिक विकास तथा सामाजिक न्यायसहित समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ।