९ फागुन,काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि आसन्न प्रतिनिधि सभा निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ। शनिबार जारी विज्ञप्तिमा एमालेले फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको उल्लेख गरेको छ।
एमालेले सरकार शान्ति सुरक्षाको भरपर्दो र विश्वासयोग्य वातावरण बनाउन असफल भएको आरोप लगाउँदै देशका विभिन्न स्थानमा सूर्य अंकित झण्डा जलाउने र पार्टीको मूल नेतृत्वप्रति घृणा फैलाउने गतिविधि तीव्र भएको जनाएको छ। यस्ता गतिविधिलाई मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग गरेको छ।
विज्ञप्तिमा एमालेले आफूहरू कठिन परिस्थितिमा पनि धैर्य र संयमताका साथ जनताको घरदैलोमा पुगेको उल्लेख गर्दै फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’को रूपमा लिएको जनाएको छ।
एमालेले ‘भोट फर चेन्ज’को नारामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास असफल भएपछि फेक सर्वेक्षण सार्वजनिक गर्ने, झण्डा तथा चुनाव चिन्ह जलाउने र अशान्ति फैलाउने गतिविधि बढेको दाबी गरेको छ। चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले देशका विभिन्न भागमा हिंसा भड्काउने र निर्वाचन प्रभावित पार्ने षड्यन्त्र थालेको आरोप पनि एमालेले लगाएको छ।
रौतहटको गौरमा जारी कर्फ्यूलाई उदाहरण दिँदै एमालेले समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ। शान्ति सुरक्षाको अवस्था सुदृढ नभएसम्म भयरहित निर्वाचन सम्भव नहुने उल्लेख गर्दै एमालेले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
साथै, निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति निर्वाचन आयोग उदासीन बनेको भन्दै एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।


















