Logo

९ फागुन,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौरमा देखिएको पछिल्लो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै समुदायलाई संयमता अपनाउन अपिल गरेका छन्।

शनिबार पत्रकारसँग कुराकानी गर्दै नेपालले हिन्दु र मुस्लिम समुदाय सदियौँदेखि मिलेर बसेको उल्लेख गर्दै आपसी सद्भाव कायम राख्न आग्रह गरे। “हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन,” उनले भने।

नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन्। सोही क्षेत्रबाट उनले लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व गर्दै आएका छन्।

सहसंयोजक नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने बताए। दुवै समुदायले एक–अर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले उत्तेजनामा नआउन आग्रह गरे।

स्थिति सामान्यीकरणका लागि सरकारसँग पनि उनले अपिल गरेका छन्। गृहमन्त्रीसँग कुराकानी गरी तत्काल कर्फ्यु लगाउन सुझाव दिएको उल्लेख गर्दै नेपालले जनकपुरका डीआईजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

“कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जत र प्रतिष्ठामा आँच नआओस् भन्ने विषयमा हामी सजग छौँ,” उनले भने।


सम्बन्धित समाचार