१० फागुन,वीरगञ्ज । गौर नगर क्षेत्रमा पुनः कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
शनिबार बिहान सवगढा–६ मा दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनाव नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले कडा कदम चालेको जनाएको छ। प्रारम्भमा शनिबार दिउँसो १:०० बजेदेखि आइतबार बिहान ६:३० बजेसम्म कर्फ्यू जारी गरिएको थियो। बीचमा केही समयका लागि कर्फ्यू खुकुलो पारिए पनि अवस्था पुनः संवेदनशील बनेपछि बिहान ८:३० बजेदेखि पूर्ण कर्फ्यू लागू गरिएको प्रशासनले स्पष्ट पारेको छ।
कर्फ्यू आदेश पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा लागू गरिएको छ।
तनावका कारण सार्वजनिक सुरक्षा प्रभावित भएपछि शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको छ। प्रहरी र स्थानीय प्रशासनले नागरिकलाई संयमित र जिम्मेवार बन्न तथा कानून पालना गर्न आग्रह गरेका छन्। सम्भावित अप्रिय घटना रोक्न समुदायस्तरसम्म समन्वय गरी अघि बढ्ने तयारी रहेको पनि जनाइएको छ।
यसैबीच प्रशासनले जनमतका जिल्ला अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट निर्वाचित एक वडाध्यक्षलाई दंगा भड्काएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

















