Logo

१० फाल्गुण, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक निर्वाचनको अन्तिम घडीमा पुगिसकेकाले अब कुनै पनि बहानामा मतदान स्थगित गर्न नहुने भन्दै कडा चेतावनी दिएका छन् ।

निर्वाचनको तयारीका लागि राज्यको ढुकुटीबाट अर्बौँ रुपैयाँ खर्च भइसकेको र उम्मेदवारहरूले समेत ठूलो लगानी गरिसकेको उल्लेख गर्दै ओलीले अब पछाडि हट्ने ठाउँ नरहेको स्पष्ट पारे । अहिले पनि पर्दाभित्रबाट चुनाव बिथोल्ने र रोक्ने प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले यस्ता कुनै पनि षडयन्त्रबाट विचलित नभई विजयको लक्ष्यसहित चुनावी मैदानमा होमिइसकेको उद्घोष गरे । विगत ६ महिनासम्म आफूहरूले पटक-पटक आग्रह गर्दा वास्ता नगर्नेहरूले अहिले अन्तिम समयमा आएर भाँजो हाल्न खोज्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको उनको तर्क छ ।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिदृश्यमा उदाएका नयाँ शक्तिहरूमाथि पनि तिखो व्यङ्ग्य प्रहार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम नलिई उनले यसलाई ‘सानो भाँडोमा चर्को आगो बालेर उम्लिएको दूध’ सँग तुलना गरे। कुनै ठोस वैचारिक आधार नभएको र विभिन्न ठाउँबाट मानिसहरू बटुलेर बनेको जोडजामवाला पार्टीु ले चुनाव नजित्ने निश्चित भएपछि अत्तालिएर अराजकता फैलाउन थालेको ओलीको आरोप छ । विपक्षीहरूले अर्काको झण्डा जलाउने, निहुँ खोज्ने र चुनावी वातावरण बिथोल्ने जस्ता अलोकतान्त्रिक हर्कतहरू सुरु गरेको भन्दै उनले आफ्ना कार्यकर्ताहरूलाई संयमित रहँदै कडा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

निर्वाचन लोकतन्त्रको प्राण भएको र यसलाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अबको बाँकी समय केवल विजयको तयारीमा खर्चिनुपर्नेमा जोड दिए । ‘हामीले जित्नै पर्छ, र जित्छौँ,’ भन्ने आत्मविश्वासका साथ उनले एमाले अब कुनै पनि किसिमको अन्योलमा नरहेको सन्देश दिएका छन् ।
चुनावलाई पर धकेल्ने प्रयासहरू अझै जारी रहेको भए पनि जनमतको अगाडि त्यस्ता प्रयासहरू असफल हुने उनको दाबी छ । ओलीको यो आक्रामक शैलीले चुनावी माहोललाई थप तताइदिएको छ भने नयाँ र पुराना दलहरूबीचको वाकयुद्धलाई समेत नयाँ उचाइमा पुर्‍याएको छ ।


सम्बन्धित समाचार