Logo

१० फाल्गुण, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको मतदान प्रक्रिया कुनै पनि हालतमा नरोकिने उद्घोष गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई मुलुकको सुशासन र संविधान रक्षाको ‘निर्विकल्प कडी’ को रूपमा चित्रण गर्दै निर्वाचन तोकिएकै मितिमा भएरै छाड्ने बताउनुभयो । केही सीमित स्वार्थ समूह र ‘कुण्ठित तत्व’ हरूले निर्वाचन रोकिने भ्रम फैलाउन खोजेको आरोप लगाउँदै उहाँले २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपाली जनताले आफ्ना प्रतिनिधि छान्ने कुरामा आयोग दृढ रहेको स्पष्ट पार्नुभयो । राजनीतिक अस्थिरता र प्रतिनिधि सभा विघटनपछिको यो जटिल घडीमा हुन लागेको मतदानले मुलुकको भड्किएको राजनीतिक अनुशासनलाई पुनः लयमा फर्काउने उहाँको विश्वास छ ।

आयोगले विशेषगरी निर्वाचनको स्वच्छता कायम राख्न सञ्चार जगतलाई ‘आचारसंहिताको पहरेदार’ बन्न आग्रह गरेको छ । निर्वाचनको निष्ठामाथि खेलबाड हुन नदिन मतदानअघि गरिने ‘मत सर्वेक्षण’ माथि पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गराउँदै भण्डारीले यस्ता क्रियाकलापले मतदाताको मनस्थितिमा भ्रम छर्ने र स्वच्छ प्रतिस्पर्धालाई खल्बल्याउने चेतावनी दिनुभयो । सञ्चारकर्मी र आयोग एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै उहाँले निर्वाचनको व्यवस्थापन आयोगले गरे पनि त्यसको वास्तविक माहोल बनाउने र मतदातालाई सुसूचित गर्ने मुख्य दायित्व सञ्चारमाध्यमकै काँधमा रहेको बताउनुभयो। साथै, यसपटक थपिएका करिब १० लाख नयाँ युवा मतदाताको उत्साहले मुलुकमा सुशासनको नयाँ मार्ग प्रशस्त गर्ने आयोगको विश्लेषण छ ।

निर्वाचनको पारदर्शिता सुनिश्चित गर्न खटिने पर्यवेक्षकहरूमाथि पनि आयोगले यसपटक ुतेस्रो आँखाु को निगरानी बढाएको छ । विगतमा केही पर्यवेक्षक संस्थाहरूले आफ्नो सीमा नाघेर निश्चित राजनीतिक दलको पक्षमा वकालत गरेको तितो अनुभव सुनाउँदै कार्यवाहक प्रमुख आयुक्तले पर्यवेक्षणका नाममा अवाञ्छित गतिविधि गर्नेहरूलाई कडा निगरानीमा राखिने बताउनुभयो ।

शताब्दीकै पेचिलो मानिएको यो निर्वाचन प्रक्रियालाई आयोगले सरलीकृत गरिसकेको दाबी गर्दै उहाँले यस ‘पवित्र यज्ञ’ मा सबै राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई जिम्मेवारीपूर्वक सहभागी हुन अपिल गर्नुभयो। आयोगको यो दृढताले निर्वाचनको सुनिश्चिततामाथि उठाइएका प्रश्नहरूलाई तत्कालका लागि मत्थर पारिदिएको छ ।


सम्बन्धित समाचार