१० फाल्गुण, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्र आज दिउँसो चितुवाको आतङ्कले त्रसित बनेको छ।
नासलचोकमा अचानक बस्ती छिरेको चितुवाको आक्रमणबाट दुई जना सर्वसाधारण घाइते भएका छन् ।
दिउँसो करिब १ बजेतिर भएको यस घटनामा ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले घाइते भएका हुन् । चितुवाको झम्टाइबाट महर्जनको टाउको र बायाँ हातमा चोट लागेको छ भने अर्का घाइते वाग्लेको दाहिने कान र बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते महर्जनको स्थानीय शुभम् अस्पतालमा र वाग्लेको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
बस्तीमा मानिसहरूलाई आक्रमण गरेपछि उक्त चितुवा स्थानीय अनोजमणी अधिकारीको घरभित्र छिरेर लुकेको थियो। घरभित्रै हिंस्रक वन्यजन्तु पसेपछि त्रसित बनेका स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । हाल चितुवा लुकेको उक्त घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् भने स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ र चितुवालाई नियन्त्रणमा लिन काठमाडौँ डिभिजन वन कार्यालयसँग समन्वय भइसकेको छ ।
सहरी क्षेत्रमा चितुवा पसेर घरभित्रै लुकेको यो घटनाले मनमैजुबासीलाई त्रसित बनाएको छ । वन कार्यालयको प्राविधिक टोलीले चितुवालाई डार्ट (बेहोस) गरेर उद्धार गर्ने तयारी गरिरहेको छ । वन र बस्तीको सिमाना जोडिएका क्षेत्रहरूमा पछिल्लो समय वन्यजन्तुको प्रवेश बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम थप बढेको देखिएको छ । प्रहरी र वन टोलीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा नलिएसम्म सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

















