Logo

११ फागुन, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला देशकै सबैभन्दा चर्चित र हाइ–प्रोफाइल भिडन्तको केन्द्र बनेको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहबीचको यो टक्कर केवल एउटा सिटका लागि मात्र नभई दुई भिन्न राजनीतिक धार र प्रधानमन्त्री पदको दावेदारीबीचको प्रतिष्ठाको लडाइँ बनेको छ।

तर, पछिल्लो एक सातामा विकसित घटनाक्रमले झापा मात्र होइन, देशभरि नै रास्वपाको लहर कमजोर बन्दै गएको संकेत गरेको छ। बालेन शाहको विवादास्पद भाषण, रास्वपाको अस्पष्ट घोषणापत्र र एमालेको सूक्ष्म चुनावी रणनीतिले गर्दा झापा–५ को नतिजा कुन मोडमा पुग्छ भन्नेमा स्वयं उम्मेदवारहरू नै तनावमा देखिएका छन्।

केही दिनअघि धनगढीमा आयोजित सभामा बालेन शाहले दिएको एक भाषणले रास्वपाका शान्तिप्रिय र बौद्धिक मतदाताहरूलाई झस्काएको छ। बालेनले ठेकदारहरूलाई कुटपिट गर्ने, रुखमा बाँध्ने र सडकमा पछार्ने जस्ता अभिव्यक्ति दिएपछि उनीमाथि कानुन हातमा लिन खोजेको र अधिनायकवादी शैली अपनाएको आरोप लागेको छ।

बालेनको यो क्रूर भाषणको जवाफमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सभापति थापाले भनेका थिए, प्रधानमन्त्री बन्छु भनेर हिँड्ने व्यक्तिले कसैलाई रुखमा बाँधेर कुट्ने कुरा गर्नु लोकतन्त्रमा सुहाउँदो कुरा होइन। बरु निर्माण क्षेत्रमा देखिएका अड्चन हटाउन विद्यमान ४१ वटा कानुन संशोधन, खारेज र मर्ज गर्ने ठोस योजना ल्याउनुपर्छ। थापाको यो परिपक्व जवाफलाई रास्वपाभित्रकै कतिपय बौद्धिक समर्थकहरूले समेत तारिफ गरेका छन्, जसले गर्दा बालेनको क्रेज मा धक्का लागेको छ।

रास्वपाले सुर्खेतमा सार्वजनिक गरेको घोषणापत्रले पनि पार्टीभित्रै र बाहिरका समर्थकहरूलाई निराश पारेको छ। शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता र गणतन्त्र जस्ता गम्भीर विषयमा पार्टीले स्पष्ट र ठोस धारणा ल्याउन नसकेको भन्दै धेरैले आलोचना गरेका छन्। रास्वपामा लागेका युवाहरूको भावना क्रान्तिकारी परिवर्तनको भए पनि घोषणापत्र भने गोलमटोल देखिएपछि झापा लगायतका क्षेत्रमा रास्वपाप्रति उर्लिएको जनलहर विस्तारै सेलाउन थालेको विश्लेषण गरिएको छ।

एमालेको माइक्रोम्यानेजमेन्ट र युवा परिचालन

झापा–५ मा आफ्नो वर्चस्व गुम्ने डरले एमाले अध्यक्ष ओलीले यसपटक चुनावी रणनीतिमा आमूल परिवर्तन गरेका छन्। पहिले देशभर भाषण गरेर अन्तिममा मात्र आफ्नो क्षेत्र पुग्ने ओली अहिले घरघरै पुगिरहेका छन्।

एमालेले १८ देखि ३० वर्षका युवाहरूलाई टोल(टोलमा परिचालन गरी बालेनका नकारात्मक पक्षहरूलाई उजागर गर्ने रणनीति लिएको छ। विशेषगरी काठमाडौँको मेयर हुँदा बालेनले सुकुम्वासी बस्तीमा चलाएको डोजर, गरिब व्यवसायीमाथिको धरपकड र संवादहीनताका भिडियोहरू देखाएर एमालेले नयाँ मतदातालाई प्रभावित पार्न खोजेको छ।

यति मात्र होइन, जेनजी (Gen-Z) आन्दोलनका क्रममा स्कुल र कलेजका विद्यार्थीलाई भड्काएर संसद भवनमा आक्रमण गराएको र आन्दोलनमा घाइते भएका वा ज्यान गुमाएका युवाहरूप्रति बालेनले संवेदना समेत व्यक्त नगरेको विषयलाई एमालेले प्रमुख चुनावी एजेन्डा बनाएको छ। धरानका मेयर हर्क साम्पाङले बालेनका विरुद्ध दिएका भाषण र आलोचनाका भिडियोहरू समेत एमाले कार्यकर्ताले असन्तुष्ट मतदातालाई देखाइरहेका छन्।

ओलीको घरदैलो र बालेनको तनाव

आफ्नो निर्वाचन क्षेत्रमा घण्टीको लहर बढेपछि ओली यतिबेला घरदैलोमै केन्द्रित छन्। उनले दमक, कमल गाउँपालिका, गौरादह र गौरीगन्जका अधिकांश वडामा पहिलो चरणको घरदैलो सिध्याएका छन्। एमालेले आफ्नो ३७ हजार संगठित मतलाई सुरक्षित गर्दै थप ५–७ हजार नयाँ मत तान्ने रणनीति बनाएको छ।

उता, देशभरको दौडाहामा रहेका बालेन शाह एकाएक काठमाडौँ फर्किएर पुन  झापा हानिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। झापामा आफ्नो माहोल बिग्रिएको र एमालेले मतदाताको मन परिवर्तन गरिरहेको सूचना पाएपछि बालेन तनावमा परेको उनको टिमका सदस्यहरू स्वीकार गर्छन्। बालेन अहिले झापाकै साना टिमहरूसँग घरदैलोमा व्यस्त छन्। उनको मुख्य चुनौती एमालेमा फर्किएका र असन्तुष्ट रहेका पुराना मतदातालाई फेरि आफ्नो पक्षमा पार्नु हो।

झापा–५ मा एमालेले ४० देखि ४२ हजार मत ल्याएर जित्ने दाबी गरेको छ। एमालेका एक केन्द्रीय नेता भन्छन्, रास्वपाको मत बाहिर हल्ला भए जस्तो छैन। कांग्रेस, माओवादी र राप्रपाको मत केही हदसम्म घण्टीमा गए पनि त्यो ३० हजार कट्ने अवस्था देखिँदैन।

एमालेले आफ्नो मत सुरक्षित गर्न कांग्रेसको देउवा पक्ष र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भित्री संवाद गरिरहेको स्रोतको दावी छ। झापा–३ मा लिङ्देनलाई सघाउने शर्तमा ५ नम्बर क्षेत्रमा राप्रपाको मत ओलीलाई दिलाउने कसरत भइरहेको छ। यता बालेन पक्ष भने पुराना सबै दल एकजुट भए पनि आफू जित्नेमा ढुक्क देखिन्छन्।

ओली र बालेनको टकरावको एउटा मुख्य कडी जेनजी आन्दोलन पनि हो। ओलीले बालेनलाई सिंहदरबार जलाउन खोजेको आरोप लगाउँछन् भने बालेनले ओलीलाई बालबालिकामाथि गोली चलाउन आदेश दिएको आरोप लगाउँछन्। यद्यपि, सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद चुनावपछिसम्मलाई थपेर प्रतिवेदनलाई तत्कालका लागि होल्ड गरिदिएको छ।

झापा–५ को निर्वाचन अब कुनै एउटा दलको हारजितमा मात्र सीमित रहेन। यो ओलीको अनुभव र बालेनको आवेग बीचको लडाइँ बनेको छ। बालेनका पछिल्ला विवादास्पद अभिव्यक्ति र एमालेको सूक्ष्म रणनीतिक परिचालनले गर्दा बालेनलाई यो चुनाव लामखुट्टे मारेर जितिने जस्तो सजिलो नहुने देखिएको छ। झापाली मतदाताले बालेनको डोजर शैली लाई मन पराउँछन् कि ओलीको विकास र स्थिरता को आश्वासनलाई, त्यसको छिनोफानो फागुन २१ गते नै हुनेछ।


सम्बन्धित समाचार