१२ फागुन, काठमाडौं । बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या एक हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले सोमबार सार्वजनिक गरेको झापा–केन्द्रित बाचापत्रमा रास्वपा नेतृत्वमा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र दिगो समाधान गर्ने नीति अवलम्बन गरिने उल्लेख गरेका छन्।
उनका अनुसार झापा ५ मा करिब १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका अनौपचारिक तथ्यांक छ। झापा जिल्लाभर भने ५० हजार ७ सयभन्दा बढी यस्ता परिवार रहेको उल्लेख गरिएको छ।
झापा ५ अन्तर्गत दमक नगरपालिकामा ६ हजार ३४६, कमल गाउँपालिकामा ८१८, गौरादह नगरपालिकामा २ हजार ६६० र गौरीगञ्ज गाउँपालिकामा २ हजार १४६ भन्दा बढी परिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्।
बालेनले बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्याण्ड बैंक’ (भूमि बैंक)को व्यवस्था गरिने बताएका छन्। साथै ऐलानी जग्गासम्बन्धी उचित व्यवस्थापन, नक्सांकन तथा अभिलेखीकरण नभएका जमिनको नापी–नक्सा अभिलेखीकरण कार्य सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
त्यसैगरी उनले दमक भ्यु टावर सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाएका छन्।

















